काठमाडौँ, जेठ ९, २०८२
नेपाल समाजवादी पार्टी (नेसपा) भित्र फेरि तीव्र अन्तरविरोध देखिएको छ। नेकपा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठबीच सैद्धान्तिक र वैचारिक मतभेद चर्किंदै गएको छ। यसअघि २०८० चैत ३ मा डा. बाबुराम भट्टराई र यादवबीचको विवादले पार्टी विभाजन भएको थियो। हाल यादव नेतृत्वको नेसपा १४ महिनामै पुनः विभाजनको डिलमा पुगेको छ।
नेसपाको वैशाख २७ गते बसेको कार्यकारिणी बैठकले जेठ मसान्तसम्म माओवादीसँग एकता प्रक्रिया टुंग्याउने निर्णय गरेको थियो। तर, एकताका लागि सैद्धान्तिक विषयमा सहमति नहुँदा विवाद सतहमा आएको छ। यादव माओवादीको फुर्को हटाएर र पार्टीको नाम परिवर्तन गरी रुपान्तरणसहित एकताको पक्षमा छन्। उनी सर्लाही–२ बाट निर्वाचित संघीय सांसद तथा पूर्वखानेपानी मन्त्री हुन्।
यता, माओवादी पृष्ठभूमिका श्रेष्ठ विनासर्त एकताको पक्षमा उभिएका छन्। सिन्धुली–२ (ख) बाट बागमती प्रदेशसभामा निर्वाचित श्रेष्ठ पूर्वआन्तरिक मामिलामन्त्री हुन्। उनको समूहले जेठ ११ गते केन्द्रीय समिति बैठक बोलाएपछि यादव समूह सशंकित बनेको छ। महासचिव रमेशप्रसाद यादवले श्रेष्ठ समूहको बैठक आधिकारिक नभएको विज्ञप्तिमार्फत जनाएका छन्।
दुवै पक्षले एकतामा विवाद नभएको दाबी गरे पनि तनाव कायमै छ। महासचिव रमेशले जेठ १२ गते माओवादी अध्यक्ष प्रचण्डसँग निर्णायक छलफल हुने बताए। “रुपान्तरणसहित एकता गरौँ भन्ने हाम्रो अडान हो। प्रचण्डजी काठमाडौँ फर्किएपछि छलफल गर्छौं,” उनले रातोपाटीसँग भने।
नेसपाको यो आन्तरिक कलहले पार्टीको भविष्य र माओवादीसँगको एकता प्रक्रियालाई थप जटिल बनाएको छ।
