काठमाडौँ — सार्वजनिक यातायात पूर्णरूपमा ठप्प पारेर आन्दोलनमा उत्रिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारबीच आज भएको वार्ता निष्कर्षविहीन बनेको छ।
छ बुँदामा सहमति नजिक पुगे पनि मुख्य मागमा सहमति जुट्न नसक्दा वार्ता कुनै निष्कर्षमा नपुगेको महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए। ‘आजको दुई चरणको वार्तामा कुनै सहमति बन्न सकेन,’ अध्यक्ष स्वाँरले भने, ‘अर्को वार्ता भोलि बिहान साढे १० बजे बस्ने तय भएको छ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा बनेको सरकारी वार्ता टोली र व्यवसायी प्रतिनिधिबीच आज दुई चरणमा छलफल भएको थियो।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीहरू ७ बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन्। गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प छ भने सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा अवरोध पुर्याइएको छ।
वार्ता निष्कर्षमा नपुगेकाले बन्दका कार्यक्रमबारे थप निर्णय नलिइएको अध्यक्ष स्वाँरले बताए।